सभापोखरी–६ स्वाचीमा कांग्रेस परित्याग गर्दै ८ जना नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश

किरण लिम्बू   /  संखुवासभा — प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियान तीव्र पारिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सभापोखरी गाउँपालिका–६ स्वाचीमा संगठन विस्तारमा उल्लेखनीय सफलता हासिल गरेको छ। सूर्य ध्वजाबाहक प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. अर्जुन कार्की नेतृत्वको टोली गाउँमा पुगेको अवसरमा ८ जनाले नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

चुनावी घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै डा. कार्कीले विकास, सुशासन र समृद्धिका मुद्दा अघि सारेका थिए। सोही क्रममा कांग्रेस परित्याग गरेका स्थानीय नेताकार्यकर्ताले एमालेको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गरेका बताएका छन्।

नवप्रवेशीहरूलाई उम्मेदवार डा. कार्कीले खादा तथा टीका लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै उनले सभापोखरी क्षेत्रमा एमालेप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा सूर्य चिन्हलाई विजयी गराउन सबैलाई आह्वान गरे।

एमालेका स्थानीय नेताहरूले नयाँ साथीसँगै संगठन थप मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्। पार्टी प्रवेश गर्ने सम्पूर्ण कम्रेडहरूलाई हार्दिक स्वागत गरिएको जनाएको छ।