तातोपानी धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहोरको थुप्रो, संरक्षणमा बेवास्ता भएको स्थानीयको गुनासो
चैनपुर, असार ५ — चैनपुर नगरपालिका–१ नुन्ढाकीस्थित तातोपानी धार्मिक तथा पर्यटकीय क्षेत्र परिसरमै फोहोर थुप्रिएको अवस्थामा भेटिएपछि यसको संरक्षण, सरसफाइ र व्यवस्थापनप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र मानिने तातोपानी क्षेत्रमा सिसाका बोतलसहित विभिन्न प्रकारका फोहोर खुला रूपमा फालिएको देखिएको छ। विशेषगरी स्थलको प्रवेशद्वार नजिकै फोहोर थुप्रिँदा आगन्तुकहरूमा नकारात्मक सन्देश गएको स्थानीयवासीहरूको भनाइ छ।
पर्यटन प्रवर्द्धन तथा धार्मिक स्थलको संरक्षणका लागि विभिन्न योजना सार्वजनिक गरिए पनि फोहोर व्यवस्थापनमा देखिएको लापरबाहीले सम्बन्धित निकायको कार्यक्षमतामाथि प्रश्न उठाएको स्थानीयको आरोप छ।
स्थानीयवासीका अनुसार पर्यटकलाई आकर्षित गर्ने स्थल नै फोहोरको थुप्रोमा परिणत हुन थालेपछि क्षेत्रको सौन्दर्य, धार्मिक गरिमा र पर्यटकीय महत्वमा समेत असर पर्न सक्ने खतरा बढेको छ।
स्थानीयहरूले तातोपानी क्षेत्रको नियमित सरसफाइ, फोहोर व्यवस्थापन तथा संरक्षणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार समयमै ध्यान नदिए धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो क्षेत्रको आकर्षण घट्न सक्ने अवस्था सिर्जना हुन सक्छ।
















