“बाबा फर्किने प्रतीक्षामा अबोध आँखा” — जीवनसँग संघर्षरत अनुप खड्काका लागि देश–विदेशबाट सहयोग
धनकुटा ।
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–१, कोप्चे पञ्चकन्या टोल निवासी २९ वर्षीय अनुप खड्का हाल भारतको नयाँ दिल्लीस्थित BLK-Max Super Speciality Hospital मा कलेजोसम्बन्धी गम्भीर रोगको उपचार गराइरहेका छन्। जीवन–मरणको संघर्षमा रहेका अनुपलाई बचाउन परिवार, आफन्त तथा स्थानीयवासीको सक्रियतामा “अनुप खड्का बचाउ अभियान” सञ्चालन गरिएको छ।
अस्पतालको शैयामा जीवन बचाउने संघर्ष गरिरहेका अनुपको घरमा भने साना अबोध छोरा–छोरी “बाबा कहिले घर फर्किनुहुन्छ” भन्ने आशामै दिन गन्दै छन्। श्रीमती दिन–रात अस्पतालमै सेवामा रहनुभएको छ भने आमाबुबा आफ्नै सन्तानको स्वास्थ्य लाभको कामना गर्दै प्रार्थनामा छन्।
अभियान सुरु भएको छोटो समयमै देश तथा विदेशबाट सहयोगी मनहरूबाट उल्लेखनीय साथ प्राप्त भइरहेको छ। आज मिति २०८३/०२/०६ गते बेलुका ७:०३ बजेसम्ममा अभियानमार्फत रु. ३,०५,०००/- सहयोग रकम संकलन भएको अभियान टोलीले जनाएको छ।
यस अभियानको नेतृत्व महालक्ष्मी नगरपालिका–१ का वडा सचिव भेष नारायण पौडेलले गरिरहनुभएको छ। अभियानअन्तर्गत कस्ले कति सहयोग गर्नुभयो भन्ने सम्पूर्ण विवरण उहाँको फेसबुक प्रोफाइल “Meraj Poudel” मार्फत सार्वजनिक गरिएको जनाइएको छ।
अभियानमा संलग्नहरूले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै उपचारका लागि अझै सहयोग आवश्यक रहेको बताएका छन्। आर्थिक सहयोग गर्न नसक्ने महानुभावहरूलाई समेत यो अभियानको जानकारी धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्याइदिन अनुरोध गरिएको छ।
“पैसा भन्दा ठूलो मानव जीवन हो” भन्ने भावसहित अहिले अनुप खड्काको जीवन बचाउन देश–विदेशबाट उठिरहेको मानवताको हातले एउटा परिवारमा फेरि आशाको दियो बालिएको छ।

















