काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । त्यस्तै, पश्चिम रुकुममा ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ७ः१५ बजेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १२९ जनाको भूकम्पमा परेर ज्यान गएको प्रहरी प्रवक्ता डिआईजी कुवेर कडायतले बताए । त्यस्तै भूकम्पमा परेर जाजरकोटमा ५५ जना र पश्चिम रुकुममा ८५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको डिआईजी कडायतले बताए ।
भूकम्पपछि रुकुम पश्चिममा प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमाण्डमा ३२० जना प्रहरी, जाजरकोटमा डिएसपीको कमाण्डमा ४५० जना र कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जनाको प्रहरी टोली जाजरकोटमा उद्दारको लागि खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै उद्दारको लागि चौरहजारी बेसक्याम्पबाट १० जनाको टोली पश्चिम रुकुममा, सोही क्याम्पबाट १० जनाको टोली जाजरकोटमा खटिएको र प्रहरी अस्पतालका नायब महानिरीक्षक (डिआईजी) गोपेश ठाकुरको कमाण्डमा ११ जनाको मेडिकल टोली जाजरकोटतर्फ लागेको बताइएको छ ।















