इटहरी : मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई प्रेस युनियन सुनसरीले उपचारका लागि २१ हजार रुपियाँ सहयोग गरेको छ । प्रेस युनियनआबद्ध पत्रकारहरूबाट सङ्कलित सो रकमसहित आज पत्रकार दियालीलाई २४ हजार एक सय पाँच रुपियाँ सहयोग हस्तान्तरण गरिएको थियो ।
प्रेस युनियन सुनसरीमार्फत इटहरीका व्यवसायी अनुरोध थापाले दुई हजार एक सय तथा नेपाली काङ्ग्रेस इटहरीका सचिव विक्रम घिमिरेले एक हजार पाँच रुपियाँ सहयोगस्वरूप उपलब्ध गराएका थिए ।
प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको संयोजकत्वमा सङ्कलित सो रकम अग्रज पत्राकर हर्ष सुब्बा, पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियन कोसी प्रदेश अध्यक्ष मीनकुमार नवोदितलगायतले हस्तान्तरण गरेका थिए ।
इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक तथा मकालु टुडे अनलाइनका प्रधान सम्पादक दियाली दुवै मिर्गौला काम नलाग्ने भई न्युरो अस्पताल विराटनगरमा दैनिक डायलासिस उपचार गराइरहेका छन् ।
दियालीका अनुसार चिकित्सकहरूले उनलाई चाँडै मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन्, मिर्गौला दिने दाता तयार पनि छन् तर खर्च अभावमा मिर्गौला प्रत्यारोपण गर्न पाइरहेका छैनन् ।
नेपाल दलित पत्रकार सङ्घ र समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्यसमेत रहेका ४८ वर्षीय पत्रकार दियालीलाई उपचारमा सहयोग जुटाउन खगेन्द्र ओलीको संयोजकत्वमा ‘पिबी दियाली बचाउ अभियान’ सुरु गरिएको छ ।




















