मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

सोमबार (आज) बिहान बेलबारी नगरपालिका १० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार लेटाङ नगरपालिका ३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको हो ।

घरबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको उनलाई हात्तीले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत बुधबार राति मात्रै इटहरी २ का रविन खड्काको हात्तीले आक्रमण गरी मृत्यु भएको थियो ।

पछिल्लो समय सुनसरी, मोरङ, झापा लगायतका पूर्वी जिल्लामा दुई दर्जन बढीको संख्यामा आएका हात्तीको बथानले भौतिक रूपमा समेत क्षति हुँदै आएको छ ।