गुल्मी, भदौ १३ – गएरातिदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण जिल्लाका दुई स्थानमा सडक अवरुद्ध भएको छ। सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको बहाव असामान्य रूपमा बढेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गङ्गा बहादुर सारुले जानकारी दिएका छन्।
शुक्रबार बिहानैदेखि पानीको मात्रा बढेपछि सवारीसाधनसहित सर्वसाधारणको आवतजावत ठप्प भएको छ। वैकल्पिक बाटो नभएकाले यात्रुहरू निकै प्रभावित भएका छन्। अझै वर्षा निरन्तर भइरहेको हुँदा तत्काल सडक सञ्चालनमा आउने सम्भावना न्यून देखिन्छ।
यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। हाल सडक खुलाउने काममा प्रहरी र स्थानीयवासी निरन्तर जुटिरहेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गुल्मीका करिब २०० भन्दा बढी स्थान पहिरोको उच्च जोखिममा रहेका छन्। प्रहरी प्रशासनले निरन्तर पानी भइरहेको अवस्थामा यात्रा अघि सडकको अवस्था अनिवार्य बुझ्न सबैलाई आग्रह गरेको छ।















