काठमाडौं, असोज ३० – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि सुरु भएको छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको विशेष राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आफ्ना विचार र सुझाव राख्ने क्रम निरन्तर जारी रहेको पार्टीले जनाएको छ।
आजको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको हो। एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा करिब ३६० मध्ये ५० जना सदस्यले आफ्ना धारणा राखेका थिए, भने आज करिब १०० सदस्यले बोल्ने अनुमान गरिएको छ।
बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटको समय तोकिएको छ, र निर्धारित समय नाघेपछि माइक्रोफोन स्वतः बन्द हुने व्यवस्था गरिएको छ। सदस्यहरूले वर्णानुक्रम अनुसार बोल्ने पालो पाउने छन् — हिजो ‘र’ अक्षरबाट सुरु हुने सदस्यहरू बोलिरहेका थिए भने आज ‘ज्ञ’देखि ‘क’सम्मका सदस्यहरूको पालो रहनेछ।
हिजोको बैठकमा अध्यक्ष ओलीले पार्टीको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरेका थिए। त्यस क्रममा केन्द्रीय सदस्यहरूले जेनजी आन्दोलन, अन्तरिम सरकार गठन प्रक्रिया र संसद् विघटनका विषयमा पनि आफ्ना सुझाव दिएका थिए।
बैठकमा केही सदस्यहरूले पदाधिकारीको राजीनामासम्बन्धी विषय पनि उठाएका छन्। सोबारे प्रतिक्रिया दिँदै ओलीले राजीनामा माग्नेले पहिले आफैंले उदाहरण प्रस्तुत गर्नुपर्ने टिप्पणी गरेको बताइएको छ।
सदस्यहरूका धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्नो विचार राख्ने तयारीमा छन्। अन्त्यमा अध्यक्ष ओलीले बैठकमा उठेका सबै प्रश्न र सुझावहरूको समग्र जवाफ दिने कार्यक्रम रहेको एमाले स्रोतले जनाएको छ।















