काठमाडौं, असोज ३० – सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका करिब दर्जनौं देशका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ। आज (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकबाट त्यस सम्बन्धी औपचारिक निर्णय हुने सरकारी स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, केही राजदूतहरूलाई तयारीका लागि सूचना पठाइसकिएको छ भने केहीलाई आगामी कात्तिक २० गतेभित्र स्वदेश फर्कन निर्देशन दिने तयारी छ।
सरकारले फिर्ता बोलाउन लागेको राजदूतहरूको सूचीमा चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शैल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रूसका लागि जंगबहादुर चौहान, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल लगायतका नाम समावेश छन्।
यद्यपि भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मालाई भने तत्काल फिर्ता नबोलाउने निर्णय भएको स्रोतले जनाएको छ।
सरकारका एक उच्च अधिकारीका अनुसार, यो कदम राजनैतिक नियुक्ति भएको नियोगहरूमा पुनरावलोकन र समायोजन गर्ने उद्देश्यले लिइएको हो। “नयाँ सन्तुलन कायम गर्न र कूटनीतिक प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन यो प्रक्रिया अघि बढाइएको हो,” ती अधिकारीले भने।
यसबीच, केही पूर्व–राजदूत र कूटनीतिज्ञहरूले भने छोटो अवधिमा धेरैजसो राजदूतहरूलाई एकैपटक फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय छविमा असर पर्न सक्ने टिप्पणी गरेका छन्।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा फिर्ता आदेश जारी गर्नेछ।




















