कात्तिक २, २०८२ आइतबार।

आज देशभर काग तिहारको पर्व श्रद्धा र खुशीका साथ मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्वमा बिहानै कागलाई मीठा–मीठा परिकार चढाएर पूजाआराधना गर्ने चलन छ।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज आइतबार सूर्योदयको समयमा त्रयोदशी पर्ने भएकाले यही दिन काग तिहार मनाइने निर्णय गरिएको हो।


हिन्दू परम्पराअनुसार कागलाई यमराजका दूतका रूपमा सम्मान गरिन्छ। जनविश्वास अनुसार यमराजले पृथ्वीका घटनाक्रम र सन्देशहरू कागमार्फत सुन्ने गर्छन्। त्यसैले आजको दिन कागलाई आदरपूर्वक पूजा गरी मिठो खानेकुरा खान दिएर प्रसन्न पार्ने चलन रहेको छ।


लोककथामा पनि कागलाई शुभसूचक पक्षीका रूपमा लिइन्छ। घर वरिपरि काग कराएमा “शुभ बोल, शुभ बोल” भन्दै शुभ समाचार आउने विश्वास गरिन्छ।


‘काकेन दधि भक्षितम्’ भन्ने उक्ति अनुसार कागलाई दही भात विशेष प्रिय हुने भएकाले आज धेरैले दही भात चढाएर पूजा गर्छन्। यसले यमराजसमक्ष राम्रो सन्देश पुर्‍याउने मान्यता रहिआएको छ।