काठमाडौं । नेपाली साहित्यका अमर कवि तथा महान साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज (कात्तिक ३ गते) देशभित्र र विदेशमा रहेका नेपाली समुदायबीच विविध कार्यक्रमका साथ मनाइँदैछ।

देवकोटाको जन्म विसं १९६६ साल कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। उनले बाल्यकालमै असाधारण साहित्यिक प्रतिभा देखाएका थिए। मात्र दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाले नेपाली भाषालाई नयाँ स्तरमा पुर्‍याउँदै साहित्यमा अद्वितीय योगदान दिएका छन्।

उनका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत र समालोचना प्रकाशित छन्। ‘शकुन्तला’, ‘मुनामदन’, ‘सुलोचना’, ‘सावित्री–शतक’ लगायतका कृतिहरूले उनलाई नेपाली साहित्यको अमर महाकविका रूपमा स्थापित गरेका छन्।

साहित्यप्रेमीहरूका अनुसार देवकोटाका सिर्जनाले नेपाली भाषाको सौन्दर्य, मानवीय संवेदना र राष्ट्रप्रेमको गहिरो भाव झल्काउँछ। आजका दिन देशका विभिन्न भागमा उनको स्मृतिमा कविता वाचन, नाटक प्रदर्शन, गोष्ठी तथा पुष्पगुच्छा अर्पणजस्ता कार्यक्रमहरू आयोजना भइरहेका छन्।

नेपालकै मात्र होइन, विश्वभरका नेपालीहरू देवकोटाको योगदान र उनको मानवतावादी चिन्तनलाई स्मरण गर्दै श्रद्धा व्यक्त गरिरहेका छन्।