धनकुटा, कात्तिक ५।
धनकुटा महालक्ष्मी नगरपालिका अन्तर्गतका ७ जना झुर्लुङे पुल हेरालु कर्मचारीलाई करारबाट हटाइएपछि सामाजिक सञ्जालमा चौतर्फी विरोध र टिप्पणी सुरु भएको छ।
नगरपालिकामा कार्यरत करार कर्मचारीमध्ये यी ७ जना झुर्लुङे पुल हेरालु थिए। नेपाल सरकारको निर्देशन अनुसार दरबन्दी बाहेक अस्थायी तथा करार सेवामा रहेका कर्मचारीलाई हटाउने निर्णय भएपछि, महालक्ष्मी नगरपालिकाले कात्तिक १ गतेदेखि उनीहरूको करार सम्झौता रद्द गरेको हो।
सामाजिक सञ्जालमा अहिले धेरैले “पुल हेरालु भन्ने पनि सरकारी कर्मचारी हुन्छन्?” भन्ने आश्चर्य प्रकट गरेका छन्। कतिपयले यस्तो पदबारे पहिले कहिल्यै सुनेनन् भन्दै “यस्ता कर्मचारी त काम नगरी तलब लिने रहेछन्” भन्ने टिप्पणी गर्दै विरोध जनाइरहेका छन्।
तर नगरपालिकाको भनाइ फरक छ। नगरपालिकाले ती कर्मचारीहरू पहिलेदेखि नै काम गर्दै आएका र झुर्लुङे पुलको सुरक्षा, मर्मत, निगरानी र यात्रुको सुरक्षामा सहयोग पुर्याउने जिम्मेवारी सम्हाल्दै आएका बताएको छ। तर संघीय सरकारले जारी गरेको निर्देशनका कारण बाध्यतावश उनीहरूलाई हटाउनु परेको नगरपालिकाको भनाइ छ।
हटाइएका झुर्लुङे पुल हेरालु कर्मचारीहरू:
1. भिम बहादुर जिमि
2. टेक बहादुर थापा मगर
3. देबिमाया काकी
4. शान्ता थापा
5. डिक बहादुर कुवार
6. दिप बहादुर भण्डारी
7. गीता थापा














