धनकुटा, कार्तिक १४।

दमकबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार बिहान धनकुटा नगरपालिका–९ तीनघुम्तीमा दुर्घटनामा परेको छ।


प्रदेश १–०२–००२ ख ९५१९ नम्बरको सो बस बिहान करिब ८:४५ बजे अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


दुर्घटनामा मोरङको लेटाङ–३ की ५५ वर्षीया मीना गुरुङ घाइते भएकी छन्। बसमा रहेका २७ यात्रुमध्ये अन्य सबै सकुशल रहेका धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।


घाइते गुरुङलाई तत्काल उद्धार गरी धनकुटा जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले बताएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।