यातायात व्यवस्था विभागको भवनमा भएको आगजनी र त्यसपछि सेवा अवरुद्ध भएको दुई महिनापछि नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन खुला गरिएको छ । गत २४ भदौमा भएको प्रदर्शनपछि विभागको सेवा ठप्प भएको थियो ।


विभागका अनुसार आइतबारदेखि उपत्यकाका दुई वटा यातायात व्यवस्था कार्यालय — सानोभर्‍याङ र भक्तपुरको राधेराधे — बाट नयाँ लाइसेन्सका लागि आवेदन, लिखित तथा ट्रायल परीक्षा सुरु भइसकेको छ । त्यसैगरी सोमबारबाट चाबहिल र एकान्तकुना कार्यालयबाट पनि सेवा सञ्चालनमा आएको विभागका निर्देशक केशव खतिवडाले जानकारी दिए ।


“नयाँ लाइसेन्स लिनेहरूका लागि आवेदन, लिखित र ट्रायल परीक्षा सुरु भइसकेको छ,” खतिवडाले भने, “यसअघि नयाँ र पुराना दुवै लाइसेन्सको नवीकरण सेवा सुरु भइसकेको हो ।”


उनका अनुसार मंगलबारबाट उपत्यकाबाहिरका यातायात व्यवस्था कार्यालयहरूबाट पनि क्रमशः यो सेवा सुरु हुँदैछ । हालसम्म देशभर रहेका ४२ मध्ये ३८ वटा कार्यालयमा लाइसेन्ससम्बन्धी सेवा सञ्चालन भइसकेको र बाँकी चार कार्यालय — रुकुमको चौरजहारी, सुर्खेत, पोखरा र हेटौंडा — मा भवन निर्माण कार्य भइरहेकोले केही दिनमा सेवा सुरु हुने जनाइएको छ ।


खतिवडाले प्रारम्भिक दिनहरूमा आवेदन दिनेहरूको संख्या हेरेर प्रणालीमा लोड व्यवस्थापन गर्ने बताएका छन् । “सेवा सुरु गरेर केही दिन आवेदन संख्या हेर्छौं । यदि प्रणालीमा अत्यधिक लोड परे आवेदन दिने समय निर्धारण गर्नेछौं,” उनले भने ।


सामान्य अवस्थामा दैनिक ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिने गरेका छन् । तीमध्ये करिब ४ देखि ५ हजार जनाले ट्रायल परीक्षा पास गर्ने गर्छन् ।


यससँगै, १८ कात्तिकबाट ड्राइभिङ लाइसेन्स नागरिक एपमा पुनः उपलब्ध भएको विभागले जनाएको छ । विभागको डेटा सेन्टरमा भएको आगजनीका कारण नागरिक एपबाट सेवा हटाइएको थियो । अहिले देशभर छपाइका लागि बाँकी रहेका २५ लाखभन्दा बढी लाइसेन्समध्ये करिब १२ लाखको छपाइ सुरक्षण मुद्रण केन्द्रले सुरु गरिसकेको छ ।