चैनपुर (संखुवासभा) – चैनपुर नगरपालिका–१ को आर्थिक सहयोगमा मालबासे–पोक्लाबुङ्ग–पैरे सडक खण्डमा आजदेखि सरसफाइ अभियान सुरु गरिएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा सम्पन्न भएको अभियानको नेतृत्व वडा अध्यक्ष बुद्धिमान लिम्बूले गरेका छन्।


सडक तथा आसपासका क्षेत्रलाई व्यवस्थित, सुरक्षित र स्वच्छ बनाउने उद्देश्यसहित थालिएको अभियानमा पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लबका अध्यक्ष बिष्णु कुमार राई र सचिव किरण लिम्बू विशेष रूपमा सक्रिय देखिनु भयो। उनीहरूले स्थानीय युवाहरूसँग समन्वय गर्दै अभियानलाई प्रभावकारी रूपमा अघि बढाएका थिए।


वडा अध्यक्ष लिम्बूले स्थानीय सडक, सार्वजनिक संरचना तथा सम्पत्ति संरक्षणमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए। उनका अनुसार, नियमित सरसफाइ तथा व्यवस्थापनले दुर्घटना जोखिम कम हुने, पर्यावरण सफा रहने र स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउनेछ।


अभियानमा स्थानीय युवादल, क्लब र सामाजिक संस्था सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको वडा कार्यालयले जानकारी दिएको छ।