धनकुटा — महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै स्वास्थ्य संस्थाहरूमा e-हाजिरी (डिजिटल उपस्थिति) प्रणाली आधिकारिक रूपमा लागू गरेको छ। स्वास्थ्य सेवा व्यवस्थापनलाई थप पारदर्शी, नियमित र प्रभावकारी बनाउन नगरपालिकाले एकैसाथ सबै स्वास्थ्य कार्यालयमा यो प्रणाली सञ्चालनमा ल्याएको हो।


नगरपालिकाअन्तर्गतका सामुदायिक स्वास्थ्य इकाइ, स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा अब कर्मचारीले कार्यालयमा राखिएको e-हाजिरी उपकरण प्रयोग गरेर मात्र उपस्थिती दर्ता गर्नुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। हाजिरी दर्ता भएको जानकारी सोही उपकरणमार्फत स्वचालित रूपमा केन्द्रिय सर्भरमा हुने भएकाले अभिलेख व्यवस्थापन अझ सुदृढ भएको बताइएको छ।


नगरपालिकाले लागू गरेको e-हाजिरी प्रणालीमार्फत सबै स्वास्थ्य कार्यालयको उपस्थिती विवरण केन्द्रबाटै वास्तविक समयमा हेर्न मिल्ने व्यवस्था गरिएको छ। कुन स्वास्थ्य संस्थामा कति कर्मचारी उपस्थित छन्, को अनुपस्थित छ, हाजिर र छुट्टीको समय कति भयो भन्ने सम्पूर्ण तथ्यांक नगरपालिकाको ड्यासबोर्डमा प्रत्यक्ष हेर्न सकिने प्रणाली सक्रिय गरिएको हो।


डिजिटल उपस्थिती प्रणाली लागू भएपछि कर्मचारी व्यवस्थापनमा पारदर्शिता आउने, अनियमितता नियन्त्रण हुने र सेवा प्रवाहमा समयपालना सुनिश्चित हुने अपेक्षा नगरपालिकाले गरेको छ। डिजिटल अभिलेख सुरक्षित रहने भएकाले तलब–भत्ता मिलान, रिपोर्टिङ तथा कार्यसम्पादन मूल्यांकन प्रक्रियामा पनि सहजता आउने अधिकारीहरूले बताएका छन्।


महालक्ष्मी नगरपालिकाले e-हाजिरीलाई पूर्ण रूपले कार्यान्वयन गर्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिँदै यसको नियमित प्रयोग र अद्यावधिक अनिवार्य गर्न आग्रह गरेको छ। नगरपालिकाका अनुसार e-हाजिरीको प्रभावकारी प्रयोगले स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष सुधार देखिने विश्वास लिइएको छ।