धनकुटा/आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट युवा नेता विभत्सु थापा उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
गाउँ घर ग्रामीण विकास, नेपाल तथा नेपालीहरूको पहिचान, राष्ट्रियता, साथै युवाहरूको नवीन सोच र विचारलाई केन्द्रमा राख्दै धनकुटाको मुहार फेरिने र जिल्लाको शिर उच्च राख्ने प्रतिबद्धतासहित थापा चुनावी मैदानमा उत्रिन लागेका हुन्। उनले आफ्नो राजनीतिक यात्रा विचार, आदर्श र सिद्धान्तबाट सुरु भएको उल्लेख गर्दै राप्रपाप्रति अटुट विश्वास रहेको बताए।
धनकुटा जिल्लाभित्रका सबै गाउँ तथा नगरमा बसोबास गर्नुहुने आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस निर्वाचनमा राप्रपाको पक्षमा मतदान गर्न अपिल गरिएको छ। साथै राप्रपाको पार्टीको अभियान कार्यक्रम र संगठन विस्तारका लागि इच्छुक राप्रपाकोअभियानमा जोडिन आग्रह गरिएको छ।
थापाले आगामी निर्वाचनमा ‘हलो’ चुनाव चिन्ह बाहेक अन्य कुनै विकल्प सोच्न वा कल्पना गर्न नसकिने स्पष्ट पार्दै सम्पूर्ण राप्रपा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
फागुन ६ गते मनोनयन दर्ताको कार्यतालिका रहेकाले काठमाडौँ तथा धनकुटा जिल्लामा रहनु भएका सम्पूर्ण राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई धनकुटा सदरमुकामस्थित पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित भई निर्वाचन कार्यालयको मनोनयन प्रक्रियामा सहभागी हुन अनुरोध गरिएको छ।
आगामी निर्वाचनमा हलो चिन्हमा मतदान गर्न र गराउन धनकुटाका सम्पूर्ण मतदातालाई समेट्दै सकारात्मक सन्देश फैलाउने अभियानलाई अझ प्रभावकारी बनाइने जनाइएको छ।



















