सादा पोसाकका प्रहरी देखिएको भिडियोपछि बालेनलाई निर्वाचन आयोगको दोस्रो स्पष्टीकरण, आचारसंहिता उल्लङ्घनमा ९ जना थप तानिए

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई निर्वाचन आचारसंहिता उल्लङ्घनको आशंकामा दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरीले बालेनका पक्षमा भोट माग्दै बोलेको देखिने श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएपछि यस विषयमा स्पष्ट पार्न आयोगले उनलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो । साथै निर्वाचन प्रचारप्रसारका क्रममा बालेनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी किन खटिएका थिए भन्ने विषयमा पनि आयोगले प्रश्न उठाएको छ ।

आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ विपरीत गतिविधि गरेको आरोपमा बालेनसहित थप नौ जनासँग पनि स्पष्टीकरण सोधिएको छ । यसअघि शनिबारसम्म २१ जनासँग स्पष्टीकरण माग गरिएकोमा आइतबार र सोमबार थप नौ जनालाई नोटिस पठाइएको हो । हालसम्म आयोगले सोधेका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको छ ।

यसैबीच बाजुराबाट रास्वपाका उम्मेदवार हेमराज थापाले मार्तडी–कोल्टी सडक निर्माण आयोजनाको विषयलाई लिएर बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी अपमानजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको उजुरी परेपछि उनीसँग पनि स्पष्टीकरण सोधिएको छ । थापाले मुख्यमन्त्री कार्यालयमा आएर अभद्र भाषा प्रयोग गर्नुका साथै सामाजिक सञ्जालमा समेत आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको आयोगले जनाएको छ । साथै आर्थिक स्रोत सङ्कलन गर्दा निर्वाचन आचारसंहिता पालना गरे–नगरेको विषयमा पनि स्पष्ट पार्न भनिएको छ ।

त्यस्तै निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको आरोपमा नेपाली कम्युनिस्ट पार्टीसँग पनि स्पष्टीकरण सोधिएको छ । सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ को निर्वाचन कार्यालय बाहिर दलको निर्वाचन चिह्न पेन्ट गरेर राखिएको उजुरीपछि आयोगले पार्टीको जिल्ला कार्यसमितिलाई जवाफ मागेको हो । सोही विषयमा उक्त क्षेत्रका उम्मेदवार माधव सापकोटासँग पनि स्पष्टीकरण सोधिएको छ ।

आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई समेत निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा स्पष्टीकरण सोधेको छ । निर्वाचन उम्मेदवार लक्षित भ्रामक तथा अमर्यादित सामग्री प्रकाशन र प्रसारण गर्ने व्यक्ति तथा सञ्चारमाध्यमको हकमा भने आयोगले प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि पत्राचार गरेको जनाएको छ ।