दाङ–२ मा कडा प्रतिस्पर्धा, शंकर पोखरेलका लागि ‘राजनीतिक परीक्षा’

दाङ–२ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ। अघिल्ला निर्वाचनहरूमा दलहरूबीच गठबन्धन हुँदा मुख्य प्रतिस्पर्धीबारे अनुमान गर्न सहज भए पनि यसपटक अधिकांश दलहरू एक्लै मैदानमा उत्रिएकाले नतिजा आँकलन गर्न कठिन भएको छ।

एमाले महासचिव शंकर पोखरेल यस क्षेत्रबाट चुनाव लड्दैछन्। अनुभवी नेता पोखरेलका लागि यो निर्वाचन राजनीतिक भविष्यसँग जोडिएको महत्वपूर्ण परीक्षा मानिएको छ। २०७९ को निर्वाचनमा उनी माओवादी केन्द्रकी रेखा शर्मासँग झिनो १९३ मतले पराजित भएका थिए। त्यतिबेला गठबन्धनबाट उम्मेदवार बनेकी शर्माले २६ हजार ८८० मत ल्याउँदा पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका थिए। गठबन्धन हुँदाहुँदै पनि एमालेले उल्लेख्य मत ल्याएकाले यसपटक जित सम्भव रहेको पोखरेलको विश्वास छ।

समानुपातिकतर्फ २०७९ मा एमालेले २३ हजार ५६८ मत पाएको थियो। प्रत्यक्षतर्फको मतसँग तुलना गर्दा पार्टीको आफ्नै आधार जितका लागि पर्याप्त रहेको उनको विश्लेषण छ। २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री बनेका पोखरेलले आफ्नो कार्यकालमा गरेका विकास कार्यकै आधारमा जनमत पाउने दाबी गरेका छन्। प्रदेश राजधानी देउखुरी सार्ने निर्णय, सडक तथा पुल निर्माण, शैक्षिक र स्वास्थ्य संस्थाको विकासलगायत काम उनले आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।

तर नयाँ पुस्ताको राजनीतिक दबाब र पार्टी नेतृत्वमाथि उठ्ने प्रश्नहरू पोखरेलका लागि चुनौती बनेका छन्। पार्टीको मत जोगाउने र थप मत आकर्षित गर्ने विषय उनको मुख्य परीक्षा हो।

पोखरेलसँग प्रतिस्पर्धामा कांग्रेसका किरणकिशोर घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य र नेकपाका निर्मल आचार्य छन्। कांग्रेस उम्मेदवार घिमिरे पहिलोपटक निर्वाचनमा उत्रिएका हुन्। उनका दाजुहरू अघिल्ला निर्वाचनमा पोखरेलसँग प्रतिस्पर्धा गरिसकेका थिए। कांग्रेसको पुरानो जनाधार कायम राख्दै नयाँ परिस्थितिमा जित निकाल्नु उनका लागि चुनौती रहेको छ।

नेकपाका निर्मल आचार्य दोस्रोपटक चुनावी मैदानमा छन्। अघिल्लो निर्वाचनमा गठबन्धनको सहयोग पाएको पार्टी यसपटक एक्लै प्रतिस्पर्धामा रहेकाले उनलाई कठिन प्रतिस्पर्धा हुने देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्य पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्दैछन्। नयाँ र पुराना दलबीचको प्रतिस्पर्धालाई मतमा बदल्न सके उनी बलिया प्रतिस्पर्धी बन्न सक्छन्। तर सहकारी प्रकरणसँग जोडिएका आरोपहरू उनका लागि चुनौती बनेका छन्।

यस क्षेत्रमा कुल २३ उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये २१ जना नयाँ अनुहार हुन् भने ४० वर्षमुनिका ७ युवा उम्मेदवार छन्। महिला उम्मेदवार दुई जना मात्र छन्, ती पनि स्वतन्त्रतर्फबाट। अहिले सबै उम्मेदवार घरदैलो अभियानमार्फत मतदाता भेटघाटमा सक्रिय छन्।