पर्सा जिल्लामा जापानिज इन्सेफलाइटिस (JE) का दुई बिरामी फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका र ठोरी गाउँपालिकामा एक–एक जना संक्रमित देखिएका हुन्।
जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका भनाइमा यो रोग पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। लामखुट्टेले सुँगुर, घोडा वा हाँसजस्ता पशुपक्षीलाई टोकेपछि मानिसलाई टोकेमा रोगको भाइरस सारिने सम्भावना हुन्छ।
यो रोगले मस्तिष्कमा असर पुर्याउने भएकाले प्रारम्भिक लक्षण देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा उपचार लिनु जरुरी हुन्छ। समयमै उपचार पाएका बिरामी अपाङ्गता र ज्यान गुमाउने जोखिमबाट बच्न सक्ने जनस्वास्थ्य अधिकृत ठाकुरले बताए।
स्वास्थ्यकर्मीहरूले लामखुट्टे नियन्त्रण, घर वरिपरि सरसफाइमा ध्यान दिने र सचेतना अभिवृद्धि गर्ने उपायलाई सबैभन्दा प्रभावकारी उपाय मानिरहेका छन्।
















