धनकुटा - नेपाली कथानक चलचित्र ‘परान’ हाल देशभरका सिनेमा हलहरूमा उत्साहपूर्वक प्रदर्शन भइरहेको छ। निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ द्वारा निर्देशित र वरिष्ठ अभिनेता नीर शाह मुख्य भूमिकामा रहेको यस चलचित्रले प्रदर्शनको पहिलो सातामै देशभर ६५ भन्दा बढी शो पाउँदै दर्शकको मन जित्न सफल भएको छ।


चलचित्रको छायांकनका धेरै दृश्यहरू धनकुटा जिल्लाका विभिन्न स्थानहरूमा खिचिएका हुन्। स्थानीय सौन्दर्य, घर–परिवारको जीवनशैली र गाउँको वातावरणलाई फिल्ममा यथार्थपरक रूपमा उतारिएको कारण धनकुटाबासीले फिल्मलाई आफ्नै भावना जस्तो महसुस गरेका छन्।

त्यसैले धनकुटा सिनेमा घरमा ‘परान’ अत्यन्त उत्साहजनक रूपमा चलिरहेको छ। हल सञ्चालकका अनुसार प्रदर्शनको पहिलो साताभर सबै सोहरू हाउसफुल रहँदै आएका छन्।


चलचित्रमा बुबा–छोराको सम्बन्ध, समयले ल्याउने दूरी र परिवारभित्रको भावनात्मक बन्धनलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। दर्शकहरूले फिल्म हेरिसकेपछि “फिल्मले मन छोयो, आँसु रोक्न सकिएन” भन्ने प्रतिक्रिया दिएका छन्।


मुख्य भूमिकामा रहेका नीर शाह को अभिनय अत्यन्त प्रभावशाली देखिएको छ भने मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीन खतिवडा, महेश त्रिपाठी र अञ्जना बराइली लगायतका कलाकारहरूको अभिनय पनि प्रशंसनीय रहेको छ। निर्देशक काकु ले पहिलो निर्देशनमै सशक्त कथा, सन्तुलित प्रस्तुति र गहिरो भावनाले दर्शकलाई बाँध्न सफल भएका छन्।


धनकुटासहित काठमाडौं, पोखरा, बुटवल, विराटनगर, धरान र नेपालगञ्जका सिनेमा हलहरूमा पनि ‘परान’ प्रति दर्शकको उत्साह उच्च देखिएको छ। मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म हाउसफुल सोका साथ चलचित्र चलिरहेको छ।


समीक्षक र दर्शक दुवैले यस चलचित्रलाई पछिल्ला वर्षका सबैभन्दा मन छुने पारिवारिक नेपाली चलचित्र मध्ये एक भनेर प्रशंसा गरेका छन्।





‘परान’ अहिले देशभरका सिनेमा हलहरूमा निरन्तर प्रदर्शनमा छ र दर्शकको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ।

धनकुटामा खिचिएको चलचित्र यही जिल्लामा सर्वाधिक माया र समर्थन पाउँदै शानदार रूपमा चलिरहेको छ