रामबजारमा माघे मेलाको अवसरमा भलिबल र फुटबल प्रतियोगिता आयोजना हुँदै

धनकुटा ,  — तेस्रो माघे मेला २०८२ को अवसरमा महालक्ष्मी नगरपालिका–५ स्थित रामबजारमा खुला वडा स्तरीय पुरुष भलिबल तथा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता रामबजार खेलकुद समितिको आयोजनामा सञ्चालन हुन लागेको हो।

आयोजक समितिका अनुसार भलिबल प्रतियोगिता पुस २५ देखि माघ १ गतेसम्म सञ्चालन हुनेछ भने फुटबल प्रतियोगिता पुस २४ देखि पुस २७ गतेसम्म आयोजना गरिनेछ। दुवै प्रतियोगिताका खेलहरू रामबजार बसपार्क खेल मैदानमा हुनेछन्।

भलिबलतर्फ प्रथम हुने टिमले नगद ७७,७७७ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले ४४,४४४ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। सेमिफाइनलमा पुग्ने टिमलाई ११,१११ रुपैयाँ प्रदान गरिनेछ। भलिबल प्रतियोगितामा सहभागी हुन २,५०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।

फुटबलतर्फ प्रथम हुने टिमले नगद २२,२२२ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई ११,१११ रुपैयाँ प्रदान गरिनेछ। सेमिफाइनलमा पुग्ने टिमलाई ५,००० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। फुटबल प्रतियोगिताको प्रवेश शुल्क ३,५०० रुपैयाँ तोकिएको छ भने १,००० रुपैयाँ डिपोजिट राख्नुपर्ने व्यवस्था गरिएको छ।

भलिबलतर्फ प्रत्येक टिममा ९ जना खेलाडी अनिवार्य हुनेछन् भने फुटबलतर्फ ६ खेलाडी र ३ वैकल्पिक गरी ९ जना खेलाडी समावेश गर्नुपर्नेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ। खेलाडीले अनिवार्य जर्सी लगाउनुपर्ने र आयोजकले तोकेको खेल नियम पालना गर्नुपर्नेछ।

माघे मेलाको अवसरमा आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय खेलकुदको प्रवर्द्धन, खेलाडीको क्षमता विकास तथा समुदायबीच आपसी सद्भाव बढाउने उद्देश्य राखेको आयोजक समितिले जनाएको छ।