महालक्ष्मी नगरपालिकामा ७ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता माघ २३ देखि
धनकुटा । महालक्ष्मी नगरपालिका, धनकुटाको आयोजनामा ७ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ आगामी माघ २३ र २४ गते सञ्चालन हुने भएको छ।
नगरस्तरीय उक्त प्रतियोगिता महालक्ष्मी नगरपालिका–३ स्थित नवीन शिक्षा सदन माध्यमिक विद्यालय, डाँडागाउँ मा आयोजना गरिनेछ। प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहनेछ।
प्रतियोगिताअन्तर्गत रनिङ, रिले, हाई जम्प, लङ जम्प, भलिबल, कबड्डी लगायतका विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइनेछ। प्रतियोगितामा प्रत्येक विधामा प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडी तथा टिमलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि छनोट गरिने आयोजकले जनाएको छ।
खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकास, अनुशासन र खेलभावना प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा विद्यालयलाई पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ। नगरपालिकाले यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

















